Thursday, August 9, 2018

के हो सहकारीको #संस्थागत #पुँजी ?_______

वित्तिय सहकारी संस्थाहरु बैंकको जस्तै कार्य गर्ने र बैंक जस्तै देखिने गरी सञ्चालित हुन्छन् । तर नाफा कमाउने र वितरण गर्ने सिद्धान्तमा भने बैंक भन्दा सहकारीहरु फरक छन्, अर्थात सहकारी संस्थाहरुले नाफा कमाउने र वितरण गर्नेसँग भन्दा पनि सदस्य सेवालाई प्राथमिकतामा राखेका हुन्छन् । सहकारी संस्थाले आर्थिक वर्षको अन्त्यमा हासिल गरेको खुद वचत (नाफा) बाट ऐनले व्यवस्था गरे अनुसार छुट््याएको जगेडा कोष र अन्य खर्च भएर नजाने (अवितरित) सबै प्रकारका कोषहरु नै सहकारीको संस्थागत पुँजी हो ।
#संस्थागत #पुँजी कमी हुँदा (कुल सम्पत्तिको अनुपातमा ५ %भन्दा कम) पर्न सक्ने नकारात्मक वित्तीय अवस्थाहरुः
क) नकमाउने सम्पत्ति खरिद गर्दा सदस्यहरुको वचत र सेयरको रकमका साथै वाह्य ऋणको प्रयोग हुन जान्छ,
ख) भाखा नाघेको ऋणले हुन जाने जोखिमको सामना गर्न संस्था सक्षम हुँदैन,
ग) आम्दानीको स्तर घट्न जान्छ, 
घ) वचत ऋणका सेवाहरु प्रतिस्पर्धि दरमा उपलब्ध गराउन सकिदैंन ।

स्रोतः नेफ्स्कून

Tuesday, April 3, 2018

बचत गरेरै हो पैसा कमाउने, हेर्नुस् बचत गर्ने सरल टिप्सहरुः


खर्च गर्दा पूर्वयोजना बनाएर बजेट तय गरी गर्नुपर्छ । वित्तीय साक्षरता भन्नु पैसाले कसरी, कति र के काम गर्छ भनी बुझ्न सक्ने हुनु हो । वित्तीय साक्षरताको अभावमा व्यक्तिले परिवार व्यवस्थापन तथा व्यवसाय सञ्चालन गर्ने क्रममा कमजोर निर्णय गर्न सक्छ, जसले परिवारको वित्तीय सबलतामा प्रभाव पार्न सक्छ । परिवारको वित्तीय सबलतामा नकारात्मक प्रभाव पर्नु भनेको कुनैकुनै तरिकाले राष्ट्रलाई नै असर पर्दै जानु हो ।

आय स्रोत
आफूले गरिरहेको कुल आम्दानी कति छ र कति कर तिरिरहेको छ तथा बढी आम्दानी कसरी गर्न सकिन्छ विश्लेषण गर्नुपर्छ । शिक्षा, तालीम र सीप विकासमा कति लगानी आवश्यक पर्छ भनी विश्लेषण गर्नुपर्छ । आवश्यकता र आयको जानकारी राखेर आवश्यकता परिपूर्ति गर्नुपर्छ । परिवारमा आर्थिक योजना र लक्ष्य बनाउँदा आयस्रोतलाई ख्याल गरेर गर्नुपर्ने हुन्छ ।

बचत
नियमित रूपमा बचत गर्ने व्यक्ति वित्तीय रूपमा सफल व्यक्ति हो । विवाह, व्रतबन्ध, घरगाडी खरीद तथा अकस्मात् हुन सक्ने ठूलो खर्चका लागि बचत गर्नुपर्ने हुन्छ । यसका लागि नियमित रूपमा गर्ने बचत छुट्ट्याएर मात्रै खर्च गर्नुपर्छ । बैङ्क खाता खोलेर बचत राख्नुपर्छ । साथै, लगानी गर्ने अल्पकालीन तथा दीर्घकालीन योजना बनाउनुपर्छ । लगानी गर्नुअगाडि विस्तृत छलफल गरेर निर्णय लिनुपर्छ । अवकाशपछिको समय तथा बच्चाको शिक्षा र अन्य खर्चका लागि पनि बचत गर्नुपर्छ ।

कारोबारको लेखा
कमाउनु जत्तिकै जोगाउनु तथा सुरक्षा गर्नु पनि महत्वपूर्ण छ । कमाइ भएर पनि सम्पत्ति सुरक्षा गर्न नसक्दा मानिसहरू गरीब भएका छन् । 

वित्तीय सुरक्षा
जबसम्म कमाएको सम्पत्तिको सुरक्षाका बारेमा मानिसहरू सचेत हुँदैनन्, तबसम्म स्थायी आर्थिक उन्नति हुन सक्दैन । विपन्न परिवारले लघुवित्त संस्थामार्फत कर्जा लिएर भैंसी वा गाईपालन गरेर परिवार चलाइरहेका हुन्छन् । अकस्मात् गाई तथा भैंसीको मृत्य अथवा अनुत्पादक भएमा निकै ठूलो वित्तीय सङ्कट आइपर्छ । त्यसैले पशुधन र व्यवसायको बीमाका साथै कमाउने व्यक्तिको जीवनबीमा अनिवार्य गरिनुपर्छ । यस्तै गरी हरेक कारोबारको लेखा राख्ने, बिलभरपाई लिनेदिने र जालसाजी तथा ठगीबाट सुरक्षित हुने कुरा पनि सामान्य मानिसलाई सिकाउनुपर्छ ।

खर्चका लागि पूर्वयोजना
वित्तीय साक्षरताको कारण न्यून आय भएका मानिसहरू खर्च कटौती गरेर बचत गर्न सक्नेछन् । वित्तीय साक्षरताको स्तरबाटै व्यक्तिको जीवनस्तरलाई प्रभाव पार्छ । अरूको पैसा लिएर व्यवसायको सृजना गर्ने तथा विक्री बढाएर बढी नाफा कमाउने कुशलता पनि वित्तीय साक्षरताले दिन्छ । वित्तीय रूपमा साक्षर व्यक्तिले आर्थिक अवसरको उपयोग गर्न, लक्ष्य पूरा गर्न, परिवारलाई वित्तीय सुरक्षा प्रदान गर्नुका साथै वित्तीय रूपमा सबल समाजको सृजना गराउँछ ।

वित्तीय साक्षरताको महत्व
आर्थिक तथा वित्तीय क्षमतामा सुधार ल्याएर निपूर्णता र सबलताका साथ आर्थिक तथा वित्तीय निर्णय लिन सक्ने बनाउनका लागि वित्तीय साक्षरता महत्वपूर्ण हुन्छ ।

ऋण शिक्षा
व्यवसाय सञ्चालन तथा अन्य आवश्यकताका लागि बजारमा केकस्ता ऋण सुविधा छन्, त्यो सुविधा प्राप्त गर्न केकस्ता प्रक्रिया पूरा गर्नुपर्छ, केकति सेवा शुल्क, ब्याज तिर्नुपर्छ, कहाँबाट कर्जा लिँदा कति लागत पर्छ, चुक्ता गर्ने प्रक्रिया कस्तो छ, आदि सूचना राम्ररी थाहा पाउनु नै ऋण शिक्षा हो ।

वित्तीय विधि
आफूले आर्जन गरेको आम्दानी तथा सम्पत्ति के कसरी सुरक्षित गर्न सकिन्छ, सुरक्षाका विधि केके हुन सक्छन्, सुरक्षा गर्दा केकति लागत लाग्छ जस्ता वित्तीय सुरक्षासम्बन्धी जानकारी प्रदान गरिन्छ ।

वित्तीय व्यवस्थापन
वित्तीय व्यवस्थापनसम्बन्धी ज्ञान पनि वित्तीय साक्षरताको अर्को उद्देश्य हो । कसरी वित्तीय व्यवस्थापन गर्ने । स्रोत कहाँबाट जुटाउने, कहाँ लगानी गर्ने, आय विश्लेषण, लगानी विश्लेषण कर्मचारी भर्ना विधि, पूँजीगत निर्णय, सम्पत्ति दायित्व, आम्दानी खर्च नगद प्रवाह, रुपैयाँको वर्तमान तथा भविष्यको मूल्यजस्ता वित्तीय व्यवस्थापनको ज्ञान दिनु पनि वित्तीय साक्षरता नै हो । व्यवसायको विकास र विस्तार, व्यवसाय सृजना तथा प्रर्वद्धन पनि वित्तीय साक्षरताको उद्देश्य हो । वित्तीय साक्षर व्यक्तिले आफ्नो आय वृद्धि गर्न, आफ्नो काम तथा व्यवसायको प्रवद्र्धन कसरी गर्ने, कति आम्दानी गर्न सकिन्छ भन्ने सम्बन्धमा सही निर्णय लिन सक्छ । त्यसै गरी ग्राहक सम्बन्ध, बजार व्यवस्थापन, उत्पादन व्यवस्थापन, मौज्दात व्यवस्थापन आदि ज्ञान दिनु पनि वित्तीय साक्षरताको उद्देश्य हो ।

वित्तीय संस्थाको उद्देश्य
आफ्नो आवश्यकता र अवस्था सुहाउँदो उत्तम वित्तीय सेवाको छनोट गर्नु, निर्णय गर्नु तथा उद्यमशीलता वृद्धि गरी आम्दानी बढाउनु वित्तीय शिक्षाको उद्देश्य हो । हरेक व्यक्ति, घर, टोल तथा समुदायमा वित्तीय शिक्षा पुर्याउनु आवश्यक छ । यसका लागि तालीम, वयस्कहरूलाई सिकाउने सिकाइ सामग्रीको विकास गरी योजना तयार पार्नुपर्छ । बालबालिकामा वित्तीय साक्षरता बढाउन पाठ्यक्रममा वित्तीय साक्षरतालाई समावेश गर्नु आवश्यक भइसकेको छ ।

स्रोतः बैंँङ्कीङ खबर डट कम

Friday, March 30, 2018

अव नेपाल टेलिकमले पनि ४० रुपैयाँसम्म व्यालेन्स सापटी दिने



नेपाल टेलिकमले नमस्ते क्रेडिटसुरु गरेको छ । सञ्चार तथा सूचना प्रविधि राज्यमन्त्री गोकुलप्रसाद बाँस्कोटाले नमस्ते क्रेडिट सेवाको उद्घाटन गरे । नेपालमै पहिलो पटक प्रिपेड सेवा शुरु गरेको टेलिकमले  प्रिपेड मोबाइलमा ब्यालेन्स सापटी लिन सकिने नमस्ते क्रेडिट नामक सेवा सुरु गरको हो ।
यस सेवाअन्तर्गत कम्पनीका ग्राहकले जीएसएम तथा सीडीएमए प्रिपेड मोबाइलमा कल गर्दा गर्दै ब्यालेन्स सकिएमा सापटी रकमबाट कललाई निरन्तरता दिन सक्नेछन् । यस्तो सापटी रकम ५ रुपैयाँ देखि ४० रुपैयाँ सम्म उपलब्ध हुने बताइएको छ । सापटी लिएको रकम रिचार्ज गरेपछि काटिनेछ । टेलिकमका अनुसार सापटी लिएको रकममा ब्याज वा अन्य कुनै कर लाग्ने छैन ।
सेवा सुचारु र बन्द गर्ने तरिका
तीन महिना पहिलेदेखि प्रयोगमा रहेको सीममा मात्र यो सुविधा उपलब्ध हुने टेलिकमले जानकारी दिएको छ । टेलिकमका अनुसार कति रकम सापटी लिन सकिन्छ भन्ने वारेमा जानकारी लिनका लागि स्टाटस लेखेर १४७७ मा एसएमएस पठाउन सकिन्छ । त्यसैगरी यो सेवा बन्द गर्नका लागि स्टप लेखेर र फेरि यही सुविधा सुचारु गर्नका लागि स्टार्ट लेखेर १४७७ मा एसएमएस पठाउन सकिने टेलिकमले जनायो । टेलिकमका अनुसार एक पटक लिएको सापटी रकम तिरेपछि फेरि अर्को पटक पनि सापटी लिन सकिन्छ । सापटी रकमको प्रयोग गरी कल गर्नका साथै एसएमएस गर्न र डाटा चलाउन पनि सकिने छ ।


यस सेवाबाट कम्पनीप्रति ग्राहकमा थप विश्वास जागृत हुने अपेक्षा गरिएको छ ।