Thursday, August 9, 2018

नोटमा केरमेट गरे जेल____________

काठमाडौँ — नोट वा मुद्रामा केरमेट गर्ने बानी छ भने सुधारिहाल्नुस् । नेपाली नोट र सिक्का केरमेट गर्ने, च्यात्ने वा जलाउनेलाई अब प्रहरीले सिधै प्रक्राउ गरी ३ महिनासम्म जेल हाल्न र ५ हजार रुपैयाँसम्म जरिवाना गर्न सक्छ । फौजदारी कसुरसम्बन्धी प्रचलित कानुन संशोधन गरी हालै पारित ‘मुलुकी अपराध (संहिता) ऐन २०७४’ मा यस्तो व्यवस्था गरिएको हो । उक्त ऐनको दफा २६३ मा भनिएको छ, ‘बैंक नोटमा लेख्न वा कोर्न हुँदैन । त्यसो गरेको भेटिए कसुर गर्ने वा गराउने व्यक्तिलाई तीन महिनासम्म कैद र पाँच हजार रुपैयाँसम्म जरिवाना हुनेछ ।’ यो ऐन आउँदो भदौ १ देखि लागू हुँदै छ ।

नोट फोहोर वा केरमेट गरेकै कारणले कैद वा जरिवाना हुने भएको यो पहिलो पटक हो । यसअघि जाली नोट कसुरमा मात्र जेल चलान हुने व्यवस्था थियो । राष्ट्र बैंकले नयाँ व्यवस्थाअनुसार नोट केरमेट नगर्न/नगराउन बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ । राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभागका प्रमुख लक्ष्मीप्रपन्न निरौलाले अब कानुनले नोट फोहोर गर्ने कार्यलाई फौजदारी कसुर मानेकाले कानुन पालना गराउने निकायले सोहीअनुसार कारबाही र जरिवाना गर्ने बताए ।

नक्कली नोट वा सिक्का (खोटा) बनाएको पाइए १० वर्षसम्म कैद र लाख रुपैयाँसम्म जरिवाना हुनेछ । झुत्रा नोट दुरुपयोग गर्नेले पनि कारोबाही भोग्नुपर्नेछ । त्यस्ता नोट कानुनबमोजिम नष्ट नगरी कुनै लाभ पाउने बदनियतले प्रयोगमा ल्याएको भेटिए ३ वर्षसम्म कैद र ३० हजार रुपैयाँसम्म जरिवाना हुनेछ ।

स्रोतः www.kantipurdaily.com

Saturday, June 17, 2017

काठमाडौंको रिङरोडभित्र मोटरसाईकल चलाउन नपाइने


काठमाडौं, २ असार । सरकारले काठमाडौं उपत्यकाको रिङरोडभित्र मोटरसाइकल सञ्चालनमा प्रतिबन्ध लगाउने तयारी गरेको छ ।
सहरी सवारी व्यवस्थापनमा साना सवारी नै मुख्य चुनौती रहेको ठहर गर्दै यातायात व्यवस्था विभागले रिङरोडभित्र मोटरसाइकल प्रवेश निषेध गराउने विषयमा छलफल थालेको हो । कारोबार दैनिकले समाचार छापेको छ ।
मोटरसाइकलमा प्रतिबन्ध लगाउनु अघि सार्वजनिक सवारी सहज र सर्वसुलभ बनाइने विभागको भनाइ छ ।
सहरी सवारी व्यवस्थापनलाई व्यवस्थित बनाउन, प्रदूषण कम गर्न तथा स्वच्छ सहर बनाउन उपत्यकाको चक्रपथभित्र मोटरसाइकल लाउन रोक लगाउने विषयमा छलफल सुरु गरिएको यातायात व्यवस्था विभागका महानिर्देशक भट्टराइले जानकारी दिए ।

Tuesday, May 30, 2017

भरतपुरको कभर्ड हलमा मतगणना भइरहँदा हिजो मध्यरातमा भएको घटनाबारे चितवन जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक (एसपी) दीपक थापालाई सोध्दा उनले यसो भने।
मतगणना शान्तिपूर्णरुपमा नै भएको थियो। कभर्ड हलभित्रको वातावरण सौहार्दपूर्ण थियो। म र डीएसपी सावसमेत गरेर त्यो बेला ३३ प्रहरी त्यहाँ थियौं। पार्टीका मुख्य नेताहरु पनि थिए। छवटा समूह बनाएर मत गन्ने काम हुन्छ, हिजो पनि त्यही भइरहेको थियो। कतै गणना भइरहेको थियो, कतै सकेर रेजा गन्ने काम हुँदैथियो। जसमध्ये दुईवटा समूहमा विवाद निस्कियो।
विवाद हुँदै थियो एउटा समूहको प्रतिनिधि बाँदरझै उफ्रेर मतपत्र समात्न गए। चार पाँचवटा जति च्याते पनि। उनी उफ्रेको देख्नेवित्तिकै म तत्काल त्यता बढे। उनलाई समाइयो। त्यसपछि थप व्यक्ति पनि समातिए। उनीहरु मधु न्यौपाने र द्रोणबाबु सिवाकोटी हुन्। उनीहरु माओवादी केन्द्रका प्रतिनिधि हुन्। त्यहाँ पार्टीले तोकेका प्रतिनिधिहरु नै थिए। त्योभन्दा बाहेकका व्यक्तिहरु भित्र थिएनन्।
गन्दै गरेको त्यस्तै चार पाँचवटाको हाराहारीमा मतपत्रहरु च्यातिएको अवस्था छ। गनेर भ्याएको मुठोको मतपत्रहरु पनि च्यातिएका छन्। जसको नतिजा सार्वजनिक भइसकेको थिएन। हिजो मध्यारतमा भएको घटना यही हो। हामीले सबै मतपत्र र टुक्राहरुसमेत एकै ठाउँ संकलन गरेका छौं। मुख्य निर्वाचन अधिकृतको कार्यालयले अर्को सूचना नहुँदासम्म मत गणना नहुने सूचना निकालेको छ।
वडा नं. १९ को मतगणना हुँदै थियो। २० को बाँकी नै छ। कभर्ड हलको गेटमा निर्वाचन आयोगले ताला लगाएर सिल गरेको छ। एमालेले पनि ताला लगाएको छ। अरु पार्टीहरुलाई पनि ताला लगाउन भनेका छौं। मत गणना स्थल वरपर निषेधित क्षेत्र कायम गरेर नारा जुलुस गर्न नपाउने व्यवस्था मिलाउँदैछौं। नागरिकवाट साभार ।